पहिरोले घर भत्किँदा चारजनाको ज्यान गयो, पाँच घाइते
Tuesday, August 11th, 2020, 10:42 am
डोटी, २७ साउन । अविरल बर्षाका कारण डोटीको आदर्श गाउँपालिका १ बाँझककानीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेका अनुसार लगातार पानी परेर स्थानीय लोगे लुहारको घर भत्किँदा, ३५ वर्षकी विष्ना लुहार, उनका छोरा ११ वर्षका पारस, छोरीहरु ७ वर्षकी सिरु र ४ वर्षकी जेनिसाको ज्यान गएकोे हो ।
त्यस्तै घाइते भएका ३३ वर्षका लोगे, उहाँकी आमा ५२ वर्षकी पाना, सासु ५६ वर्षकी घाङरी विक, सालो १३ वर्षका इन्द्र र २ वर्षकी छोरी अस्मिताको दिपायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
पसिलेटले छाएको तिनतले घर राति १ बजेतिर भत्किएको थियो र अहिले शव निकाल्ने काम भइरहेको एसपी पाण्डे जानकारी दिएका छन् ।