आज बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका महत्वपूर्ण निर्णय गर्ने
Monday, August 10th, 2020, 2:40 pm
काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार (आज) मन्त्रिपरिषद् बैठक बस्दैछ । आज साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी रहेको बालुवाटार श्रोतले जनाएको छ ।
त्यस्तै कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को बैठकले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान सेवा तत्काल नखोल्न आइतबार सिफारिस गरेको थियो ।
(सीसीएमसी)ले भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान शुरु नगर्न भन्दै पेश गरेको सिफारिसका विषयमा आजको बैठकले निर्णय गर्नेछ । साथै उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकामा सञ्चालन भइरहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।
गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सञ्चालनमा ल्याइने बताइएको थियो ।
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण निर्णय गर्नेछ ।