भारतले भन्यो बुद्धको जन्मभूमि नेपाल नै हो
Sunday, August 9th, 2020, 8:09 pm
काठमाडौं, २५ साउन । नेपालको परराष्ट्र मन्त्रालयले आज गौतम बुद्घ बारे विज्ञप्ति जारी गरेको समय नबित्दै भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मेकोबारे कुनै शंका नभएको बताएको छ ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान भारतीय भन्दै शनिबार एक सम्मेलनमा बताएका थिए । उनको यही अभिव्यक्तिको नेपालमा विरोध गएिको थियो भने नेपालको परराष्ट्रले यसको विरोधमा विज्ञप्ति नै जारी गर्नुपरेको थियो ।
त्यस्तै नेपालको परराष्ट्र मन्त्रालयले पनि गौतम बुद्ध नेपालमा नै जन्मिएको तथ्य तथा प्रमाण अन्तराष्ट्रिय स्तरमा प्रस्ट ज्ञात रहेको भन्दै आइतबार विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमा बुद्धको जन्म र जन्मस्थान ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित भएको बताइएको थियो ।
परराष्ट्रको उक्त विज्ञप्ति पछि भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको कुरामा कुनै शंका नभएको बताएका थिए भने सो विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन् ।
शनिबार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीय गौतम बुद्घ र महात्मा गान्धी हो भनेका थिए ।