गौतम बुद्धको जन्मस्थानबारे बहस आवश्यक छैनः परराष्ट्र
Sunday, August 9th, 2020, 7:25 pm
काठमाण्डौ, २५ साउन । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध ‘महान भारतीय’ भएको अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले भगवान् गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पार्दै आइतबार विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा गौतम बुद्धको जन्मस्थानबारे बहस आवश्यक नभएको र यसबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको प्रस्ट पारिएको छ ।
त्यस्तै परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै भनेको छ, ‘यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहित र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।’
यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताएका छन् ।
यसैगरी परराष्ट्रले सन् २०१४ मा नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा नेपाल एक त्यस्तो देश हो, जहाँ विश्वमा शान्ति फैलाउने बुद्धको जन्म भएको थियो भनेका कुरालाई उल्लेख गरेको छ ।
नेपाल र भारतबीच सिमा विवाद कायमै रहेको यस्तो अवस्थामा भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै, हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई नै हो भनेका छन् भने हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ पनि भन्ने अभिव्यक्ति राखेका छन् ।