कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नाकामै परिक्षण गर्ने तयारी गर्दै सरकार
Sunday, August 9th, 2020, 4:26 pm
काठमान्डौ, २५ साउन। भारतलगायत विदेशबाट नेपाल फर्किनेहरुका कारण कोरोनाको जोखिम बढेपछि सरकारले सीमा क्षेत्रमै परीक्षण गर्ने तयारीमा लागेको छ ।
सरकारले ४ महिना लामो लकडाउन यही साउन ६ गते अन्त्य गरेर केही खुकुलो पारेपछि नेपालमा कोरोना संक्रमण र मृत्यु ह्वात्तै बढेपछि त्यसको तयारीमा सरकार अगाडी सरेको हो ।
‘भित्रभन्दा बाहिरबाट आएकाहरुका कारण जोखिम बढेको पाइएको छ। त्यसैले सीमा क्षेत्रमै परीक्षण गरेर क्वारेन्टिन गर्नेकी भन्ने पनि छ। विदेशबाट नेपाल फर्किनेहरुलाई नआउ भन्न सकिँदैन। तर, भारतमा कोरोनाको संक्रमण बढेकाले जोखिम बढेको छ,’ कोभिड–१९ महामारी व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का सदस्य सचिब महेन्द्र गुरागाईँले बताए ।
अहिले पनि भारतबाट दैनिक एकहजार नागरिकहरु स्वदेश फर्किरहेका छन्। भारतमा जोखिम निकै बढेको छ। त्यहाँबाट आउनेहरुका कारण नेपाल पनि जोखिम बढ्नु स्वभाविकै हो’ सचिब गुरागाईँले भने ।
विज्ञहरुले लकडाउन फेरि लगाउने, विशेष क्षेत्रमा निषेधाज्ञा गर्ने, सीमा क्षेत्रमा कडाई गर्नेलगायतका मिश्रित सुझाव दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको सुझाव र सीसीएमसीको सिफारिसमा आवश्यक निर्णय गरिने बताएका थिए।