कोरोना संक्रमित भेटिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘शिल’
Saturday, August 8th, 2020, 1:34 pm
काठमाडौं, २४ साउन । आठ जना कोरोना भाइरसको संक्रमित भेटिएको पुष्टि भएसंगै काठमाण्डौको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘शिल’ गरिएको छ । ती संक्रमितमध्ये नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेका छन् भने सबै संक्रमित एउटै टोलका बासिन्दा रहेका छन् ।
काठमाडौं महानगरपालिका–५ का अध्यक्ष रमेश डंगोलका अनुसार गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र शिल गरिएकोे हो ।
त्यस्तै अघिल्लो बिहीबार उक्त टोलमा बस्दै आएका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना संक्रमण देखिएको हो । यसैगरी उनीहरुको सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा शुक्रबार थप पाँच जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
उपत्यकामा जहाँ संक्रमण देखियो त्यहाँ शिल गर्ने रणनीति अगाडि सारिएको भन्दै अहिले उक्त क्षेत्रलाई शिल गरिएको र भोलि कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर थप आवश्यक निर्णय गरिने अध्यक्ष डंगोलले बताएका छन् ।