भारतको केरलामा विमान दुर्घटना हुदाँ १७ जनाको मृत्यु, २० जना गम्भिर घाइते
Saturday, August 8th, 2020, 11:59 am
एजेन्सी, २४ साउन । भारतको केरला राज्यमा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ भने दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । दुबईबाट आएको एयर इन्डियाको हवाई जहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो ।
भारी वर्षाका कारण विमानलाई दुई पटक अवतरण गराउन प्रयास गर्दा असफल भएको थियो । तर, तेस्रो पटकको प्रयासमा दुर्घटना हुन पुग्यो र विमान दुई टुक्रा भयो । विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएर ३५ फिट टाढा खाल्डोमा खसे पनि विमानमा भने आगो चाँही लागेको थिएन ।
विमानमा चालक दलका सदस्यसहित १९० जना यात्रुहरु सवार थिए भने त्यमध्ये १० जना बच्चा पनि थिए। उक्त दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ भने २० जना घाइते गम्भीर भएका छन् ।
विमानमा सवार यात्रुहरु कोही भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएकाहरु रहेका छन् ।
सो विमान दुर्घटनाको जाँच गर्न दुई वटा कमिटी गठन गरिएको भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले जानकारी दिएका छन् ।