म कुनैपनि गुटमा आबद्ध छैन : बामदेव गौतम
Friday, August 7th, 2020, 5:50 pm
काठमाडौं, २३ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै आफू पार्टीभित्रका कुनै पनि गुटमा नरहेको बताएका छन् भने पार्टीभित्र ३ वटा गुट रहेता पनि कुनैपनि गुटमा रहेर पक्ष नदिएको उनले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीभित्र देखापरेका गतिरोध हल हुन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल गरी ३ वटा विचार समूह बनेका भएतापनि आफू यी गुटबाट स्वतन्त्र बस्न चाहेको हो । विज्ञप्तिमा भनिएअनुसार उनी कुनैपनि समूहगत रूपमा कसैसँग नजोडिएको र जोडिन पनि नचाहेको हो ।
पार्टीको अध्यक्षले आफूलाई भेट्न बोलाउँदा जाने गरेको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले विज्ञप्तिमा उल्लेख गरेअनुसार पार्टी अध्यक्ष भनेको केवल व्यक्ति नभइ त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको र पार्टी अध्यक्षहरू दुवै वा एक्लै बोलाउँदा भेटघाट गर्ने गरेका छन् ।
उनका अनुसार आफू स्वतन्त्र रहन प्रयासरत रहेनुका साथै पछिल्लो पटक पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण रहेको छ ।
त्यस्तै उनले विज्ञप्तिमा उल्लेख गर्दै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफूले कुनै हस्तक्षेप र सिफरिस नगरेको पनि बताएका छन् ।