अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की
Friday, August 7th, 2020, 12:41 pm
एजेन्सी, २३ साउन । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य एवम् अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले ज्यान मार्ने धम्की आएको बताइएको छ ।
उनका अनुसार बारम्बार आफूलाई ज्यान मार्ने धम्की आइरहनुका साथै आफ्ना छोरीहरुलाई समेत दुःख दिने काम भइरहेको छ ।
त्यसैगरी डा. फाउचीले आफूले अमेरिकामा कोरोना संक्रमणसँग लड्नका लागि के भइरहेको छ भन्नेबारे सार्वजनिक रुपमा बोलेका कारणले ज्यान मार्ने धम्की आइरहेको बताएका छन् ।
आफूलाई र आफ्ना परिवारका सदस्यहरुलाई ज्यान मार्ने धम्की आइरहनुका साथै उनका छोरीहरुलाई समेत दुःख दिने काम हुन थालेपछि उनले सुरक्षाकर्मीको व्यवस्था गर्नुपरेको हुनाले यो आफैमा अनौठो महसुस भएको कुरा सीएनएनसँगको कुराकानीका क्रममा फाउचीले बताएका छन् ।
डा. फाउची कोरोना महामारी नियन्त्रण अभियानमा अग्रस्थानमा रहेका हुनाले अहिले अमेरिकाभर प्रख्यात छन् । त्यस्तै धेरै पटक उनले कोरोनाका विषयमा राष्ट्रपति ट्रम्पसँग समेत असहमति जनाइसकेका छन् ।