बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
Tuesday, January 24th, 2023, 3:51 pm
सुदूरपश्चिम । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।
सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।
भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग
यसै बीच नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो । रासस