एक वर्षमा ३२ जना शान्ति सेना मारिए
Saturday, January 21st, 2023, 8:29 am
न्यूयोर्क । सन् २०२२ मा विभिन्न आक्रमणमा परि ३२ जना संयुक्त राष्ट्र शान्ति सेना मारिएको संयुक्त राष्ट्र कर्मचारी संघले जनाएको छ । मृत्यु हुनेमा एक महिला प्रहरी अधिकृतसहित २८ सैनिक र ४ प्रहरी रहेको कर्मचारी युनियनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सबै भन्दा बढी माली मिसनमा खटिएका शान्ति सेनाको मृत्यु भएको छ । यस मिसनमा १४ जना सेनाको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो मिसनमा १३ जना सेनाको मृत्यु भएको छ ।
विगत १३ वर्षमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस, रकेट प्रोपेल्ड ग्रेनेड, आर्टिलरी फायर, मोर्टार राउण्ड, बारुदी सुरंग, सशस्त्र हमला र आत्मघाती आक्रमणमा परी ४ सय ९४ संयुक्त राष्ट्रसंघ र सम्बन्धित कर्मचारीले ज्यान गुमाएको राष्ट्र संघले जनाएको छ ।
देशअनुसार २०२२ मा मृत्यु भएका शान्ति सैनिकमा इजिप्टका ७, पाकिस्तानका ७, चाडका ४, बंगलादेशका ३, भारतका २, नाइजेरियाका २, गिनी, आयरल्यान्ड, जोर्डन, मोरक्को, नेपाल, रूस र सर्बियाका १–१ जना रहेका छन् । गत अप्रिलमा कंगोमा नेपाली शान्ति सैनिक सिपाही सुर्खेतका अनिल गुरुङको निधन भएको थियो । एजेन्सी