देशव्यापी रुपमा लकडाउन हुँदैन : अर्थ तथा संचारमन्त्री खतिवडा
Thursday, August 6th, 2020, 5:33 pm
काठमान्डौ, २२ साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन् ।
संचारमन्त्री खतिवडाले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्ने बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए । ‘सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’ उनले पत्रकार सम्मेलनमा भने।
सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्ने उनले बताए ।
उपत्यकाभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ । यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए ।