उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिढ्दै
Saturday, January 21st, 2023, 8:23 am
रे समाचार/काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा गर्दै छन् ।
इटहरीको जनता पार्कमा आज खेलिने फाइनल खेल मध्यान्न १२ बजेदेखि सुरु हुने छ । शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को खेलमा प्रदेश १ ले विभागीय टोली एपिएफलाई ८ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । यससँगै विभागीय टोली एपिएफ पहिलो पटक प्रधानमन्त्री कपको सेमिफाइनलबाट बाहिरिएको थियो ।
अपराजित रहँदै फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ६६ रन जोड्नसक्यो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै २० ओभरमा दुई विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
यस्तै शुक्रवार नै सम्पन्न दिनको दोस्रो सेमिफाइनलमा खेलमा साविक विजेता एपिएफ प्रदेश १ सँग ८ विकेटले स्तब्ध बन्यो । एपिएफले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य प्रदेश १ ले ९ ओभरमा दुई विकेटको क्षतिमा भेटाउँदै सुदूरपीश्चमसँगको भेट पक्का गरेको हो ।
यसअघि टस जितेर ब्याटिङ थालेको विभागीय टोली १३.४ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको झिनो योगफल तयार पारेको थियो ।