आन्तरिकतर्फ दैनिक ४८ उडान भदौ १ देखि हुने
Tuesday, August 4th, 2020, 6:17 pm
काठमान्डौ, २० साउन। आउदो भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् ।
बन्दाबन्दी पछिको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ।
उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन्।
वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताएका छन ।
यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनस् भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ। पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ।