नेपालको ओस्कार यात्रा
Wednesday, January 4th, 2023, 3:03 pm
रे समाचार/काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा आवेदन दिएका दुवै नेपाली फिल्मले सर्टलिस्टमा पनि स्थान बनाउन सकेनन् । मनोनयन अगावै ‘लोरी’ र ‘ऐना झ्यालको पुतली’ बाहिरिका छन् ।
‘कान्स’मा ग्राण्ड जुरी पुरस्कार जितेको ‘लोरी’लाई सट फिल्मतर्फ दर्ता गरिएको थियो भने नेपालको चर्चित ‘ऐना झ्यालको पुतली’ पनि अन्तर्राष्ट्रिय फिचर विधामा दर्ता गरिएको थियो । यी दुबै फिल् सर्टलिस्टमा पनि समावेश भएनन् ।ओस्कारको दौडबाट बाहिरिएपछि यी दुवै फिल्मका निर्माताहरूले अभियान चलाउन आर्थिक रुपमा मद्दत नपुगेको बताएका छन् । लोरीलाई जिताउन हलिउड फेसन डिजाइनर समेत रहेका प्रबल गुरुङ अन्तिम समयमा कार्यकारी निर्माताको रुपमा जोडिएका थिए । कान्सको महत्वपूर्ण विधा जितेपछि कम्तीमा लोरी ओस्कारको सर्टलिस्ट र मनोनयनमा छानिन सक्ने अनुमान गरिएको थियो ।
सन् १९९९ को ७२ औं ओस्कार संस्करणमा मात्र नेपालमा छायांकन भएको फिल्म ‘हिमालय-क्याराभान’ ओस्कारको अन्तर्राष्ट्रिय विधातर्फ मनोनित भएको थियो । तर यो फिल्म पनि फ्रान्सेली निर्देशक एरिक भ्यालीको फिल्म हो ।‘क्याराभान’यता नेपालले मुकुण्डो, मुनामदन, बसाइ, सुनगाभा, झोला, टलकजंग भर्सेस टुल्के, कालोपोथी, सेतो सूर्य, पञ्चायत, बुलबुल र ऐना झ्यालको पुतलीलाई ओस्कारमा सिफारिस त गरेको छ तर कुनै पनि फिल्म मनोनयन त परेको कुरा सर्टलिस्टान समेत पर्न सकेका छैनन् ।यस वर्षको ओस्कार संस्करणमा सार्क मुलुक पाकिस्तानको फिल्म ‘जोयल्याण्ड’ र भारतबाट ‘द लास्ट सो’ र ‘आरआरआर’मात्र ओस्कारमा सर्टलिस्टेड भएका छन् ।