बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
Tuesday, August 4th, 2020, 2:16 pm
गोरखा, २० साउन । प्रहरीले गोरखामा बलात्कारको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ । गोरखा जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेकोे हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले वडाध्यक्ष रानाभाटलाई आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा रानाभाटलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ भने उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
पिडित पक्षले वडाध्यक्षले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको आरोप लगाएको छ । त्यस्तै रानाभाटलाई पक्राउ गर्नका लागि सोमबार साँझ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।