सेम्टेमबर १५ सम्म टिकटकसंग सम्झौता नभए अमेरिकामा बन्द हुने : ट्रम्प
Tuesday, August 4th, 2020, 1:51 pm
एजेन्सी, २० साउन । बढ्दै गरेको चीन र अमेरिको विवादमा विश्वकै लोकप्रिय एप टिकटक निसानामा परेको छ । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय एप टिकटक आफ्ना देशमा रहेको अमेरिकी कम्पनिलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् ।
उक्त निर्णयपछि टिकटक अमेरिकामा प्रतिबन्ध हुने संकेत पाएलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा लागेका छन् ।
ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै टिकटक एप्सलाई अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको छ भने राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाको सुरक्षाका निम्ति टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने कदम चालिएको हो ।
माइक्रोसफ्टले उक्त टिकटक एप्स खरिद गर्नका लागि वार्ता गरिरहेको ट्रम्पले जानकारी दिएका छन् । तर अमेरिकी अधिकारीहरुले गरेको दाबी अनुसार लाखौं अमेरिकीका निजी गोपनीय विवरणहरुलाई चिनियाँ गुप्तचर निकायहरुले चीन लैजाने खतरा रेहेको छ ।
अमेरिकी प्रशासनले अमेरिकी कम्पनिलाई आगामी सेप्टेम्बर मध्यसम्ममा चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकसंग सम्झौता गर्न समयवाधि दिएको छ । यसैगरी राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १५ सम्मको म्याद दिएको र यदि उक्त समयभित्र कुनै सम्झौता नभए टिकटक संयुक्तराज्य अमेरिकामा बन्द हुने बताएका छन् ।