स्वास्थ्य मन्त्रालयको आग्रह: शङ्कास्पद व्यक्ति कोरोना परिक्षण गरौ
Tuesday, August 4th, 2020, 1:36 pm
काठमान्डौ, २० साउन। राजधानी (काठमाडौँ) मा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद व्यक्तिलाई कोरोना परीक्षणका लागि सार्वजनिक अपिल गरेको छ।
स्वास्थ्य मन्त्रालयका तर्फबाट सह प्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्गलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘कोभिड १९ महामारी सङ्क्रमण बढिरहेको हालको अवस्थामा काठमाडौँ उपत्यकामा समेत यसको जोखिम बढिरहेको छ । सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्ने, चाडपर्वहरु घरमै बसी मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यो अपिल गर्दछ’ मन्त्रालयले जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ ।
यस सम्बन्धमा शङ्कास्पद सङ्क्रमितहरुको खोजगर्ने काम तीव्र बनाइएको भन्दै विज्ञप्तिमा भनिएको छ–‘शङ्कास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु जोखियुक्त स्थानहरुबाट आउनुभएका व्यक्तिहरुले नजिकको स्वाब सङ्कलन केन्द्रमा बिहान ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षणमा सहयोग गर्न सर्वसाधारण÷अस्पतालहरुमा सबैमा यो अनुरोध गरिन्छ ।’
स्वास्थ्य मन्त्रालयले स्वाब सङ्कलनका लागि राजधानीका विभिन्न १४ अस्पतालको नामसमेत उल्लेख गरेको छ । पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसूति गृह, स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब सङ्कलन केन्द्रको रुपमा मन्त्रालयले तोकेको छ ।