अमेरिकाबाट सबै चिनियाँ पत्रकार देशनिकाला भएमा त्यसको प्रतिशोध लिइनेछ
Tuesday, August 4th, 2020, 1:15 pm
एजेन्सी, २० साउन । चीन र अमेरिका वीच बढ्दै गएको तनावले फेरि अर्को नयाँ मोड लिएको छ । बढ्दो विवाद एवंम तनावका बेला यदि अमेरिकाले चिनियाँ पत्रकारहरूलाई निकाले चीनले पनि यसको बदला लिनका लागि योजना बनाइरहेको चिनियाँ पत्रिका ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले जानकारी दिएका छन् ।
त्यस्तै मंगलवार हु सिजिनले बताए अनुसार अमेरिकाको त्यस्तो कदमाको बदला हङकङमा रहेका अमेरिकी पत्रकारहरूलाई निकालेर लिइनेछ ।
आफूले थाहा पाए अनुसार अमेरिकी पक्षले चिनियाँ पत्रकारहरूको प्रवेशाज्ञा नवीकरण नगर्नुका साथै अमेरिकामा रहेका सबै चिनियाँ पत्रकारहरू निस्कन पर्ने खराब परिस्थिति आउन सक्नेछ । त्यसो भएमा चिनियाँ पक्षले त्यसको बदलमा प्रतिकार गर्दै हङकङमा रहेका अमेरिकी पत्रकारहरु समेत लक्ष्यमा पर्ने उल्लेख गर्दै ट्विटरमा लेखेका छन् ।
मार्च महिनामा नै अमेरिकाका प्रमुख पत्रिका न्युयोर्क टाइम्स, वाल स्ट्रीट जर्नल पत्रिका र वाशिङटन पोस्टका पत्रकारहरुलाई चीनको परराष्ट्र मन्त्रालयले प्रेस कार्ड बुझाउन सूचना जारी गरेको थियो । अमेरिकामा रहेको चीनीयाँ पत्रकारको संख्या घटाउन खोजेपछि चीनले यस्तो निर्णय गरेको थियो ।
यसैगरी गएको फेब्रुअरी महिनामा वाशिङटनले विभिन्न चिनियाँ सरकारी मिडियालाई फरेन मिसनको दर्जा दिदै लगभग ६० जना चिनियाँ संवाददातालाई अमेरिकाबाट निस्कन बाध्य पारेको थियो । वाशिङटनले देशका मिडियाले आफ्ना सबै कर्मचारीको व्यक्तिगत विवरणसहित तिनको घरजग्गाको विवरण परराष्ट्र मन्त्रालयलाई बताउनुपर्ने पनि बताएको थियो ।