आज जनैपूर्णिमा तथा रक्षाबन्धन, क्वाँटि खादै मनाइँदै
Monday, August 3rd, 2020, 8:23 am
काठमाण्डौ, १९ साउन । जनै पूर्णिमा अर्थात् रक्षावन्धन् श्रावण शुक्ल पूर्णिमाको तिथीमा पर्दछ । यो हिन्दुहरुको एक महान चाँडकै रुपमा मनाउने गरिन्छ । जनै पुर्णिमाको दिन तागाधारीहरुले पूरानो जनै झिकी गुरुपुरोहितद्वारा मन्त्र पढी सुद्ध पारिएको जनै फेर्ने गर्दछन् । यस्तै यसै दिन रक्षा बन्धन नामक धागो हातमा बाँध्ने चलन पनि रहेको छ ।
यस दिन बाँधिएको त्यस धागोलाई तिहारको लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । रक्षा बन्धनको आफ्नै मूल्य र मान्यता पनि रहिआएको छ भने यस्को शुरुवात तथा प्रचलन कहिलेदेखि चलिआएको हो भन्ने तथ्य तथा प्रमाण शास्त्र र किंवदन्ति कथाहरुमा पढ्न तथा सुन्न पाइन्छ ।
एकपटक स्वर्गका राजा इन्द्र र दैत्यहरुका राजा वलिबीच भयंकर युद्घ भयो । युद्घमा राजा इन्द्र पराजित भए र राजा वलि स्वर्गको सिंहासनमा बसे भने इन्द्र त्यहाबाट भागे । यसरी भागेका इन्द्र राजा वलिको डरले लुक्दै बसेको देवताहरुको गूरु वृहस्पतिले देखे । त्यसपछि वृहस्पतिदेवले इन्द्रको रक्षाका लागि विभिन्न शास्त्रहरु अध्ययन गरेर, बिभिन्न मन्त्रहरु उच्च गरेर तथा विभिन्न उपायहरु अपनाएर रक्षा सूत्र तयार गर्नुभयो ।उक्त रक्षा सूत्रलाई इन्द्रको हातमा बाधिदिए । उक्त रक्षासूत्रले इन्द्रको रक्षा भएको हुनाले त्यस दिनदेखि रक्षा बन्धन प्रचलन चलिआएको मान्यता रहेको छ । गुरु तथा पुरोहितबाट आफ्नो रक्षाका निम्ति यसदिन हातमा मन्त्रसहित रक्षा सूत्र (धागो) बाध्ने गरिन्छ ।
यसैरी यस दिन ज्वाईंहरुले आफ्ना ससुराबाट नयाँ जनै फेर्नेसमेत गर्दछन् । सप्तऋषिलाई तर्पण दिने भएकाले यो दिनलाई ‘ऋषि तर्पणी’ पूर्णिमा पनि भन्ने गरिन्छ ।
पहिला पहिला तराईका मधेसी समुदायमा आजको दिनमा दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन थियो भने अहिले यो चलन धेरै ठाउँमा अपनाउन थालेको छ ।
नेवार समुदायमा सँग सँगै ब्राह्मणरक्षेत्रि र सम्पुर्ण नेपाली मानब समुदायमा आजको दिन विभिन्न गेडागुडीहरूको परिकार ‘क्वाँटी’ खाने चलन छ । आजका दिन क्वाँटी खानाले विभिन्न रोगहरु हराएर जाने र शरीर स्वस्थ हुने जनविश्वास रहिआएको छ ।
आजको दिन गोसाइकुण्डमा मेला लाग्ने गर्दछ । त्यहाँ भक्तजनहरु गएर कुण्डमा स्नान गर्ने, पूजापाठ गर्ने र जप तथा ध्यान गर्ने पनि गर्दछ । आजका दिन गोसाइकुण्डमा गएर यस्ता धार्मिक कार्यहरु गरेमा पाप बाट मुक्ति मिल्ने, आफ्नो र आफ्ना परिवारको राम्ररो हुने आस्था रहिआएको छ ।
यसदिन विशेष गरेर भगवान शिवको पूजा एवम् अराधना गर्ने गरिन्छ । किंवदन्ति कथा तथा शास्त्रका मान्यता अनुसार आजका दिन भगवान शिबको महिमा गान तथा अराधना गरेमा मुक्ति पाउनुका साथै शिवलोकको पनि प्राप्ति हुने जनविश्वास र आस्था रहिआएको छ ।
जनैपूर्णिमा तथा रक्षाबन्धन क्वाँटि खादै आफ्ना परिवार र आफ्न्तजनहरुको साथ खुशी एवंम् हर्षोउल्लासका साथ मनाइने गरिन्छ ।