कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारका ५ सहित ७ जनामा संक्रमण पुष्टि
Sunday, August 2nd, 2020, 5:35 pm
जनकपुरधाम, साउन १८ । जनकपुरधामका एक कोरोना संक्रमणले ज्यान गुमाएका धनुषाको शहिदनगर नगरपालिका–८ का व्यापारी श्रवण साहको सम्पर्कमा रहेका थप ७ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ ।
कोरोना संक्रमण भएका थप ७ जनाहरु मृतक साह घरका ८ वर्ष मुनिका चार बच्चासहित ५ जना र २ कामदार रहेका छन् । कमला नगरपालिका–८ का वडा सदस्य रामजीवन यादवका अनुसार शनिवार राती मात्र उनीहरुको रिपोर्ट कोरोना पोजिटिभ पुष्टि भएर आएको थियो।
रिपोर्ट पोजिटिभ आएपनि अहिलेसम्म उनीहरुलाई आइसोलेसनमा नलगिएको र सातै जनालाई सोनापारा विद्यालयको क्वारेन्टाइनमा राखिएको वडा सदस्य यादवले जानकारी दिएका छन् । उनका अनुसार उनीहरुलाई एम्बुलेन्समा गंगुली वा सपही आइसोलेसनमा लगिने तयारी गरिएको छ ।
यस्तै परिवारका ५ जना र २ कामदारको रिपोर्ट पोजिटिभ आएपनि मृतकका भाइ र एक सहयोगीको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतकका भाइ र सहयोगीसंगै एम्बुलेन्समा जनकपुर गएका, सँगै अस्पतालमा बसेको र धरान लग्ने क्रममा समेत सँगै रहेता पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् ।
ती दुवैजनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई जनकपुरस्थित गोपाल धर्मशाला क्वारेन्टाइनबाट ४ दिनमै बिहीबार घर पठाइदिएका थिए । त्यस्तै गत साउन ११ मा ३८ वर्षीय साहलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा उनको बाटोमैे मृत्यु भएको थियो ।
मृत्यु भएको ६ घण्टापछि उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।