सामूहिक कुटपिटबाट एक युवकको मृत्यु, १४ जना पक्राउ
Sunday, August 2nd, 2020, 1:27 pm
रोल्पा, १८ साउन । रोल्पामा एक युवकको सामूहिक कुटाइबाट ज्यान गएको छ । रोल्पा र रुन्टिगढी गाउँपालिका–६ सालबाङका २४ वर्षीय ईश्वर बस्नेतको कुटपिटबाट मृत्यु भएपछि १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हिराबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएकोे छ ।
शनिबार राति अभियुक्त बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढा घर फर्कने क्रममा नगद पाँच हजार र घडी लुटेको निहुँ पारेर सामूहिक कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङले बताएका छन् ।
इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटाइबाट घाइते भएका बस्नेतको शनिबार थप उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो ।