भियतनाममा पहिलो पटक एक कोरोना संक्रमितको मृत्यु
Friday, July 31st, 2020, 7:16 pm
१६ साउन, काठमाडौं । भियतनाममा आज पहिलो पटक कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । अहिलेसम्म भियतनाम कोरोना भाइरसको संक्रमणबाट एकजनाको पनि मृत्यु नभएको देशको रुपमा थियो ।
शुक्रबार मात्रै कोरोना संक्रमणबाट पहिलोपटक होइ एन सहरमा एक ७० वर्षीय व्यक्तिको मृत्यु भएको त्यहाँका एक स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
तीन महिनाभन्दा लामो समयसम्म नयाँ कोरोना संक्रमित फेला नपरेको भियतनाममा यो साताको सुरुवातदेखि फेरि नयाँ कोरोना संक्रमित भेटिन थालेका छन् । यससंगै त्यहाँ पुनः कोरोना संक्रमण फैलिन सुरु गरेको छ ।
भियतनामले अरु मुलुक भन्दा कोरोना भाइरसको संक्रमणको नियन्त्रण राम्रोसँग गरेको भएतापनि पहिलो कोरोना संक्रमितको मृत्युको कारणले गर्दा फेरि कोरोना संक्रमणको त्रास बढेको छ ।
यसैबीच भियतनामका प्रधानमन्त्री न्गुयेन सुआन फुकका अनुसार यहाँको सरकारले कोरोना संक्रमण बढ्दै गएमा प्रत्येक प्रान्त र सहरमा लकडाउन गर्नेछ भने कोरोना भाइरस नियन्त्रणको लागि निकै आक्रामक कदम चाल्ने छ ।