आमा बनिन् कोरोना संक्रमित महिला
Friday, July 31st, 2020, 3:05 pm
वीरगञ्ज, १६ साउन । विरगञ्जमा एक कोरोना संक्रमित महिलाले एक शिशुलाई जन्म दिएकी छिन् । विरगञ्ज महानगरपालिका वडा न. १ का ३१ बर्षीय महिलाले बिहान ४ बजेर १० मिनेटमा गण्डक कोरोना अस्पतालमा नर्मल डेलिभरि गरेर शिशुलाई जन्म दिइन् ।
उक्त महिलाले शुल्क तिरेर साउन १५ गते पिसिआर परीक्षण गरेका थिइन् भने रिपोर्ट नआउदै उनलाई सुत्केरी व्यथा लागिसकेको थियो । डेलिभरीका लागि अस्पताल लाने क्रममा मात्र उनको कोरोना पुष्टि भएको रिपोर्ट आएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका सहयोगमा उनलाई बिहीबार राति प्रहरीको गाडिमा हालेर गण्डक कोरोना अस्पताल लगेको थियो ।
यो विषयमा एसपी पन्तले गण्डक कोरोना अस्पतालका डा.उदयनारायण सिंहसँग सहकार्य गरि उक्त महिलालाई उनी भर्ना भएको नेसनल मेडिकल कलेजबाट डेलिभरीका लागि गण्डक अस्पताल लगेकी थिइन । डा. सिंह र उनका स्वाथ्य टिम मिलेर उनको नर्मल डेलिभरी गराउन सफल भएका थिए ।
गण्डक कोरोना अस्पतालका अनुसार कोरोना संक्रमित भएकी महिलाले ३ किलोको छोरी जन्म दिएकी छिन् भने नवजात शिशुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि बिहानै नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ ।
अस्पतालका ड्युटी डा. निरज सिंहले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।