नेपालका अधिकांश भू–भागमा समयैमा धान रोपाइँ
Thursday, July 30th, 2020, 4:42 pm
काठमाण्डौ, १५ साउन । गत बर्षहरु भन्दा यो बर्ष नेपालमा प्रशस्त धान रोपाइँ भएको र समयमै धान रोपाइँ पनि सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देश भरका अधिकाशं भूभागमा रोपाई सकिएको छ । मन्त्रालय माताहतको देशभरका विभिन्न इकाईबाट प्राप्त विवरणअनुसार १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार गत सालहरु भन्दा यो पटक कुल धान रोपाइँ योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाइँ सकिएको छ । यसैगरी उच्च पहाडमा ४४ हजार ९ सय एक हेक्टर, पहाडमा तीन लाख १७ हजार ४२४ तथा तराईका ९ लाख ४८ हजार ९७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
नेपालमा समयमै मनसुन सक्रिय हुनुका साथै रोपाइँ गर्ने जनशक्ति पनि गाउँमा प्रशस्त उपलब्ध भएको हुँदा यस वर्ष देशको अधिकाशं भागमा रोपाइँ छिटो भएको र अनुकुल मौसमका कारण खाडेरीले धानको बिउ सुक्नेजस्तो विगतको समस्या एवंम अवस्था नभएको मन्त्रालयले उल्लेख गरेको छ ।
यसरी देशभर समयमै रोपाइँ भएकाले उत्पादनमा पनि बृद्धि हुनुका साथै छिटो रोपाइँ हुँनाले कृषि उत्पादन चक्रमा पनि सुधार आउने मन्त्रालयको विश्वास छ ।