प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या बढ्दै, थप ९ जनामा कोरोना
Thursday, July 30th, 2020, 11:41 am
काठमाडौं, १५ साउन । बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कठायतका अनुसार थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ । थपिएका नयाँ संक्रमित यसअघि संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका थिए । उनीहरुलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा पत्ता लगाइएको थियो । त्यस्तै अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा कार्यरत कर्मचारीहरु रहेका छन् ।
मुख्यालयमा कोरोना संक्रमितको संख्या बढेलगतै थप सतर्कता अपनउनुका साथै संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएका प्रवक्ता कठायतले बताएका छन् ।
यसैगरी मुख्यालयले संक्रमितको संख्या बढ्ने अनुमान गर्दै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि गरिरहेको छ ।