सिंहदरबारभित्रका ७ सय कर्मचारीकाे पीसीआर परीक्षण शुरू
Wednesday, July 29th, 2020, 4:09 pm
काठमाडौं, १४ साउन । काठमान्डौ उपत्यकामा काेराेना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबार भित्रका कर्मचारीको पीसीआर परीक्षण शुरू गरेकाे छ ।
काठमाडौंमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सिंहदरबार कार्यरत कर्मचारीको नमूनाका लागि स्वाब संकलन गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयका करिब ७ सय कर्मचारीको नमुना संकलनको तयारी भएको बताउनुभएको छ।
काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जना काेराेना संक्रमित रहेको रहेका छन् ।