कोरोना विरुद्धको खोपमा अमेरिकी भ्याक्सीन मोडर्नाको बाँदरमा सफल परीक्षणको दाबी
Wednesday, July 29th, 2020, 2:53 pm
वासिङ्टन, १४ साउन । कोरोना महामारीको खोपको अविस्कारका लागि बिश्वका धेरै देशहरु लागि परेका छन् । जसमध्ये अमेरिका पनि एक दाबेदारको रुपमा रहेको छ । यहाँका वैज्ञानिकहरु र खोप कम्पनिहरु दिनरात एक गरेर खोप अविस्कार गर्ने तयारीमा जुटेका छन् । यसैमा अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ ।
न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययन अनुसार खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि हुने प्रक्रिया रोकिएको छ । उक्त अध्ययनको निचोड अनुसार खोपका कारण नाकमा रहेको कोरोना भाइरसको बृद्धि रोकिनुको भनेको नाकहुँदै शरीरका भित्री भागमा कोरोना भाइरसले गर्ने संक्रमण हुनेक्रम रोकिनु हो ।
जर्नलमा उल्लेख गरिएको सूचनाका आधारमा मोडर्नाले दुई समूहमा बाँदरहरुलाई विभाजन गरी दुई भिन्न किसिमका खोपको डोज दिइ परीक्षण सुरु गरेको थियो भने परीक्षणका क्रममा पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको थियो ।
सकारात्मक नतिजा निकाल्दै खोपको असरले गर्दा खोप लगाइएका सबै बाँदरको शरीरमा एन्टीबडी विकास भएर नयाँ कोरोनाभाइरसको संक्रमणलाई निस्तेज बनाएको थियो । दुबै समूहका बाँदरको शरीरमा मानवको शरीरमा भन्दा बढी एन्टीबडी तयार भएको थियो । यस्तै, यही समूहका खोप लगाएको मानिसको पनि निको भएको थियो ।
हालसम्मको अवस्थामा मोडर्नाले तयार पारेको खोप, अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् भने विश्व उक्त खोपहरुको सफलताको प्रतिक्षामा रहेको छ ।