चाटर्ड फ्लाइटमार्फत सन्दीप लामिछाने सिपिएल खेल्ने जाँदै
Wednesday, July 29th, 2020, 1:45 pm
काठमाण्डौ, १४ साउन । नेपाली क्रिकेटर सन्दीप लामिछानेले यसपटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल)खेल्ने पक्का भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिममा भिडियो एनालिस्ट रमन सिवाकोटीले आज ट्विटमार्फत सन्दीपको सिपिएल यात्रा पक्का भएको जानकारी दिएका हुन् ।
सन्दीपका व्यवस्थापकसमेत रहेका सिवाकोटीका अनुसार सन्दीप जुलाई ३० मा कोरियन चार्टर्ड फ्लाइटमार्फत क्यारेबियन क्षेत्र उड्नेछन् र अगस्ट १ मा त्यहाँ पुग्नेछन् ।
‘सन्दीपले सिपिएल खेल्ने पक्का भएको छ । उनी सिपिएलमा सहभागी हुनका लागि जुलाई ३० मा कोरियन च्यार्टर्ड फ्लाइटमार्फत क्यारेबियन यात्रामा निस्कने छन् र १ अगस्टमा त्यहाँ पुग्ने छन्’, सिवाकोटीले लेखेका छन्, ‘यस्तो गाह्रो कामलाई सम्भव बनाउन सहयोग गर्नुहुने सबैलाई धेरै–धेरै धन्यवाद ’
तेस्रो सिजन सिपिएल खेल्ने तयारीमा रहेका सन्दीपलाई यो सिजन जमैका तलावाजले ९० हजार अमेरिेकी डलरमा अनुबन्धन गरेको छ । यो सिजनको सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुँदैछ ।
आइसिसीको नियमअनुसार सन्दीपले १४ दिन क्वारेन्टाइनमा बसेर मात्र क्लबको प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।
सन्दीपको टिमले १९ अगस्टमा सेन्ट लुसिया जुक्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।