बर्षाका कारण कैलालीको वस्तीहरुमा बाढी पस्यो, १०० घर विस्थापित
Wednesday, July 29th, 2020, 11:33 am
कैलाली, १४ साउन । गएरातीदेखि परेको अविरल बर्षाका कारण नदीको बहाव बढेसंगै कैलालीमा बाढी बस्ती भित्र प्रबेश गरेको छ । कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेपछि त्यहाँका करिब एक सय घर परिवार प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार बाढीका कारण डुबानमा परेका घर परिवारहरुलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी भइरहेको छ भने मोहनपुर, ढुसी र काँडा गाउँमा ५०–६० घरमा पानी पसेको छ ।
भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीका अनुसार बाढी ढुसी गाउँको चेकड्याम भत्काएर वस्तीमा पसेकोे थियो । बाढीका कारण भजनी नगरपालिकाको वडा नं २ को मोहनपुर, वडा नं ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँका घर परिवारहरु प्रभावित भएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बाढीका कारण कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती, खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया गाउँलगायतका स्थान डुबानमा परेको बताएका छन् ।
हरेक बर्ष अविरल बर्षाका कारण आउने बाढीको त्रासमा कैलालीका नागरिकहरु त्रासमा जिवन बिताइरहेका छन् भने देशका विभिन्न भागहरुमा बाढी र पहिरो गईरहेको छ ।