प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट
Tuesday, July 28th, 2020, 11:58 am
काठमाण्डौ, १३ साउन । आज बिहान ११ बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक स्थगित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी व्यक्त गरेका छन् ।
बैठकका लागि भनेर वरिष्ठ नेता माधवकुमरा नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु बालुवाटार पुगिसकेका छन् । अध्यक्ष प्रचण्डका अनुसार एक जना अध्यक्षले मात्र बैठक स्थगित गर्ने निर्णय लिन मिल्दैन । त्यस्तैे अधिकांश नेताहरु बालुवाटार पुगिसकेकाले बैठक स्थगित नहुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रबक्त श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डलगायतका केही नेताहरु बालुवाटार आउनेक्रममा रहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको भन्दै सामाजिक सञ्जालमा सूचना जारी गरे लगतै प्रबक्ता श्रेष्ठले माधव नेपाललगायतका नेताहरु बालुवाटार आइसककेको र एकल अध्यक्षको निर्णयले मात्र बैठक स्थगित नहुने बताएका छन् । उनका भनाइ अनुसार दुवै अध्यक्षको सहमतिले मात्र बैठक स्थगित हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी निर्णयबाट बैठक स्थगित भएको बिषयलाई लिएर नेकपाका अध्यक्ष प्रचण्डलगायत अरु नेताहरु पनि असन्तुष्ट भएका छन् ।