कूटनीतिज्ञहरूले चीनको छेन्दुस्थित अमेरिकी वाणिज्य दूतावास धमाधम छाड्न थाले
Monday, July 27th, 2020, 10:33 am
काठमाण्डौ, १२ साउन । चीन र अमेरिकाबीच बढ्दो तनावको नतिजा आउन थालेको छ । चीनले गतसाता गरेको निर्णय अनुसार दक्षिण÷पश्चिमी शहर छेन्दुस्थित अमेरिकी वाणिज्य दूतावास खाली गर्ने काम तीव्रगतिमा भइरहेको छ भने दुतावासका कूटनीतिज्ञहरूले धमाधम दूतावास छोड्न थालेका छन् । दुई देशबीचको वढ्दै गरेको व्यापार युद्धले नयाँ मोड लिएपछि एक÷अर्काको वाणिज्य दूतावास हटाउने निर्णय भएको थियो । जसको फलस्वरुप त्यहाँका कूटनीतिज्ञहरूले दुतावास छाड्न थालेक छन् ।
अमेरिकी वाणिज्य दुतावासलाई सोमबार बिहानसम्मको समय दिइएको थियो भने बन्द गर्नुपर्ने समयसीमाभन्दा केही घण्टाअघि नै दुतावासका कर्मचारीहरू सामानहरु बक्स फाइल र फोहोर राखिएका झोलामा बोक्दै गरेको दृश्य देखिएको बिबिसीले जनाएको छ । त्यस क्रममा त्यहाँका स्थानिय बासिन्दाहरुले वाणिज्य दूतावास भवनबाहिर भीड गरेका छन् भने उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् । कतिपयले भवनबाहिर सेल्फी पनि लिइरहेका छन् ।
गत हप्ता अमेरिकाले टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएसंगै त्यसको बदलामा चीनले पनि छेन्दुस्थित अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्ने निर्णय गरेको हो । संवाददाताहरूका अनुसार चिनियाँ कूटनीतिज्ञहरूलाई दुतावास छोड्न दिइएको ७२ घण्टे म्याद शुक्रवार सकेपछि अमेरिकी अधिकारीहरू वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएका थिए ।
चीन र अमेरिका बीच बढ्दो तनावलाई अहिलेकै सबैभन्दा बढि चासोको रुपमा हेरिएको छ ।