बाहिर हिड्ँदा मास्क नलगाउनेलाई अनिवार्य कारवाही गर्नु : गृहमन्त्रालय
Sunday, July 26th, 2020, 3:39 pm
काठमाण्डौ, ११ साउन । लकडाउन खुलेपनि कोरोना संक्रमणको जोखिम कायमै रहेको हुनाले नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुनः निर्देशन दिएको छ ।
मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार लकडाउन पूर्णरुपमा खुलेपनि नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको बेला सर्वसाधारण मास्क नै नलगाइ बाहिर निस्कने प्रवृति दिनानुदिन बढिरहेको हुनाले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको छ ।
अधिकारीले कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नै नलगाइ घरबाहिर निस्किन गरेका हुनाले नागरिकको सुरक्षाका लागि मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न फेरि निर्देशन दिएको हो र यदि कोहि अटेर गरेमा संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने कुरा बताएका छन् ।
गृहमन्त्रालयले यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते नै मास्क नलगाई हिँड्नेहरुलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । भने केही जिल्लामा निर्देशनको पालना भए पनि अहिले धेरैले मास्क नलगाई हिँड्ने गरेका छन् ।