पूर्वडीआईजी कोइरालाको फैसलाविरुद्ध आज सुनुवाई हुँदै
Sunday, July 26th, 2020, 12:16 pm
काठमाडौं, ११ साउन। पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।
जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले पूर्वडीआईजी कोइरालालाई पत्नी हत्यामा संलग्न रहेको ठहर गरी सर्वस्वसहित जन्मकैद सजाय तोकेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले आठ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला सुनाएपछि कोइराला गत बिहीबार जेलमुक्त भएका थिए।
संयुक्त इजलासको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतका तीन जना न्यायाधीशले सुनुवाइ गर्नुपर्नेछ।
सर्वोच्च अदालत नियमावलीको नियम २७ अनुरूप पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय हुनेछ।
पुनरावलोकन निवेदनमा सुनुवाइ अघि बढाउन अनुमति दिने अवस्थालाई कानुनी भाषामा ‘निस्सा’ प्रदान गर्ने भनिन्छ।
सुनुवाइ हुने निश्चित भएपछि तीन न्यायाधीश संलग्न रहेको पूर्ण इजलासमा पेसी तोकिनेछ ।
पुनरावलोकनको प्रारम्भिक सुनुवाइ इजलासमा नभएर तीन न्यायाधीश संलग्न चेम्बरमा हेरिनेछ।