भारतीय महिलालाई नेपाल प्रवेश गर्न नदिएको भन्दै सशस्त्र प्रहरीमाथि आक्रमण, एक राउण्ड हवाई फायर
Saturday, July 25th, 2020, 3:06 pm
रौतहट, १० साउन । कोरोना संक्रमणका कारण बन्द रहेको सीमानाका हुदैँ रौतहाट प्रवेश गर्न खोज्ने एक भारतीय महिलालाई रोक्ने प्रयास गर्दा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । उक्त आक्रमणमा परि एकजना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीले हवाई फायर गर्दै एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ नरकटिया नाकामा ड्युटीमा खटिएका बोर्डर आउट पोष्ट सरमुजवाका सशस्त्र प्रहरीका १५ जनाको टोलीले भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्र अन्तरगत कोरैया गाउँकी २ महिला परोना नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेको बेला ती महिलाहरुलाई प्रवेश गर्न रोक लगाएका थिए ।
प्रहरीका अुसार भारतीय गाउँ कोरैया र खरसलवाका झन्डै २ सय मानिस एक्कासी आएर ‘यताको जग्गा हाम्रो हो, हामी आउजाउ गर्न पाउनुपर्छ भनी भनाभन गरिरहेकै बेला २ महिलामध्येकी एक भारत कबैया पञ्चायत वडा ६ की सिमदेवी कुश्वाहाले एक्कासी सशस्त्र प्रहरीमाथि हसिया प्रहार गरेकी थिइन् ।
सशस्त्रका एसपी रवीनराज कर्णजितले हसिया प्रहारबाट सशस्त्र प्रहरी जवानको दाहिने हातमा घाउ लागेपछि यताबाट आत्मरक्षाका लागि टोलीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेकोे बताएका छन् ।सो झडपको क्रममा सशस्त्र प्रहरी बलले एक भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुश्वाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राती ८ बजे प्रहरी चौकी नरकटियामा बुझाएको छ । यसैगरी पक्राउ परेका भारतीय नागरिक कुश्वाहालाइ दुई पक्षीय छलफलपछि राती १० बजे भारतीय सशस्त्र सीमा बल ७१ नम्बर बटालियनका इन्स्पेक्टर अजय कुमारको टोलीलाई जिम्मा लगाइएको जानकारी एसपी कर्णजितले दिएका छन् ।
अहिले भने उक्त नरकटिया नाकाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।