छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने चीनको निर्णय
Friday, July 24th, 2020, 1:38 pm
काठमाण्डौ, ९ साउन । अमेरिका र चीनबिचको बढ्दो तनाव दिनानुदिन चुलिएको छ । अमेरिकाले टेक्सासको होउस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि त्यसको जवाफमा चीनले पनि दक्षिण पश्चिमको सहर छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिकाले चालेको कदम पछि चीनले यस्तो निर्णय गरेको हो । अमेरिकाले चीनद्वारा अहिले चालिएको यस कदमप्रति उचित जवाफ दिन आवश्यक रहेको बताएको छ ।
पछिल्लो केही समयदेखि केही महत्वपूर्ण विषयहरुमा चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला चीनले अहिले दुई राष्ट्रबीचमा बढ्दो तनावको स्थिति नचाहेको तर यो अवस्थाको जिम्मेवार पूर्णरुपमा अमेरिका रहेको बताएको छ । चीनले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको कारण त्यसलाई रोक्न यो कदम आवश्यक रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओल बताएका थिए । साथै पोम्पेओले चीनले यूरोपेली बौद्धिक सम्पत्ति पनि चोरी गरिरहेको र यसको कारण हजारौं मानिसहरुको रोजगारी समेत गुमेको बताएका थिए ।
अमेरिकाको उक्त निर्णयपछि चीनले पनि छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको हो ।