झन्डै चार महिनाको लकडाउन पछि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने
Friday, July 24th, 2020, 12:45 pm
काठमाण्डौ, ९ साउन । लकडाउन खुलेसंगै बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु पनि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । झण्डै ४ महिना लामो लकडाउनका बेला बैंकहरुले आफ्नो सेवा जारी राखेको भएतापनि सबै शाखा कार्यालयहरु खुला गर्न सकेका थिएनन् ।
सञ्चालनमा आएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुन सकेका थिएनन् । त्यसैगरी सहरी क्षेत्रमा सबै अधिकांश शाखाहरु खुलेका भएता पनि ग्रामीण भेगका शाखाहरु कममात्रै खोलिएका थिए ।
नेपाल राष्ट्र बैंकले लकडाउन खुलेसंगै बैंकहरुलाई सबै आफ्ना शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो । नेपाल बैंकर्स संघका अनुसार राष्ट्र बैंकको निर्देशन अनुसार अब नियमित रुपमा पहिलाकै समयमा सबै शाखाहरुबाट सेवा प्रदान गरिनेछ । तर, ग्राहक तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विषेश सतर्कता अपनाइने संघले जानकारी दिएको छ ।
केन्द्रीय बैंकले दिएको निर्देशन् अनुसार बैंक तथा वित्तीय संस्थाले ‘सिफ्ट सिस्टम’हटाइ विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नु पर्नेछ । साथै केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत विषेश निर्देशन दिएको छ ।