विराट नर्सिङ होमले नै कोरोना संक्रमित लुकाउने प्रयास गर्यो
Thursday, July 23rd, 2020, 4:27 pm
विराटनगर, ८ साउन । यस्तो कोरोना महामारीको बेला विराट नर्सिङ होमले नै कोरोना संक्रमितको पहिचान लुकाउने प्रयास गरेको पाइएको छ । यो घटना त्यतिबेला बाहिरियो जब विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भयो र प्रयोगशालामा टिपाइएका नाम, ठेगाना, टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको खोजी सुरु गरे । तर, उनीहरुले उक्त नाम, ठेगाना गरेका संक्रमित भेट्टाउन सकेनन् ।
त्यसपछि बिहीबार प्रहरीले अस्पतालका कर्मचारीहरुलाई केरकार गर्ने क्रममा अस्पतालले नै कोरोना संक्रमितहरुको झुटो विवरण पठाएको कुरा पत्ता लागेको हो । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्र्कीका अनुसार अहिले संक्रमितको पहिचान भएको छ र संक्रमितलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको बताएका छन् ।
छानबिनका क्रममा र स्रोतका अनुसार स्वाब संकलन गरेका व्यक्ति अस्पतालकै अधिकारी थिए भने अस्पतालले नै स्वाब संकलन गरी प्रयोगशालामा पठाउँदा नाम, ठेगाना, उमेर र मोवाइल नम्बर गलत राखेको पाइएको छ । तर अस्पतालले उनलाई लुकाउन प्रयोगशालामा स्वाब पठाउँदा विवरण नै गलत राखिएको थियो ।
बिहीबार बिहान संक्रमितको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलका अनुसार परीक्षणका क्रममा कसैको स्वाब संकलन गर्दा नाम, ठेगाना, सम्पर्क नम्बरदेखि सबै कुरामा बिशेष ध्यान दिनुपर्ने थियो तर अस्पतालले नै बिरामीलाई लुकाउने प्रयास गरेको बताएका छन् । अस्पतालको यस्तो गल्तीले गर्दा प्रहरी र स्वास्थ्यकर्मीले अनावश्यक दुःख पाएको पनि उनले बताए ।