सरकारी वकिल रञ्जन कोइराला रिहाइ प्रकरण सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने
Thursday, July 23rd, 2020, 3:04 pm
काठमाण्डौ, ८ साउन । ८ वर्ष जेल सजाय भुक्तान गरेर आजै मात्र डिल्लीबजार कारागारबाट रिहा भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई आफ्नै पत्नी हत्याको अभियोग लागेका सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन गरिने भएको छ । महान्यायाधिवक्ताको कार्यालयलले बिहीबार रिहा भएका कोइरालाको सजाय छुटको विषयमा पुनरावलोकनका लागि निवेदन दिने भएको छ ।
सर्वोच्च अदालतले कोइरालालाई श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएको थियो । तर, सर्वोच्चले कोइरालाको जन्मकैद सजायलाई घटाएर ८ वर्ष ६ महिनामा तोकेको थियो । महान्यायाधिवक्ताको कार्यालयले कोइरालालाई सजाय छुट दिने फैसलाविरुद्ध फैसला पुनरावलोकनका लागि सर्वोच्चमा आज निवेदन दिने निर्णय गरेको छ । साथै सर्वोच्च अदालतको कुनैपनि फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था छ ।
कोइरालाको यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला प्रधानयायाधीश चालेन्द्रशमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले उल्ट्याएका हुन् । सोही फैसलाका आधारमा बिहीबार नै कोइराला डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
यसअघि २०७१ साल वैशाख ७ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । त्यस्तैगरी २०७२ साल मंसिर २३ गते उच्च अदालत पाटनले समेत कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो ।