सञ्चालनमा आउन थाल्यो सार्वजनिक सवारीसाधन
Thursday, July 23rd, 2020, 12:34 pm
काठमाण्डौ, ८ साउन । लगभग झण्डै चार महिनादेखि थन्केर रहेका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । आज करिव आधा सवारीसाधन मात्र सञ्चालनमा आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएका छन् ।
सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदूर र महासङ्घले सवारी साधन सञ्चालनको निर्णय गरेका थिए । लकडाउन खुलेपछिको पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कमै देखिएको छ । महासङ्घले अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालनमा आए पनि आगामी दिनमा थप अरु सवारी साधन सञ्चालनमा आउने जानकारी दिएका छन् ।
महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार स्वाथ्य सावधानीका लागि चालक र सहचालकलाई आवश्यक स्वास्थ्यसामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुहरुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ । उनका अनुसार यदि सबै निकायहरुले तोकिएको दायित्व पूरा गर्ने हो भने सुरक्षित हुन सकिनेछ ।
सरकारले साउनभरि एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारीसाधन चलाउन पाउने निर्णय गरेता पनि यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने माग यातायात व्यवस्था बिभागमा राखेका छन् ।
यदि यातायात श्रमिकको कोरोना संक्रमणबाट मृत्यु भएमा उनका आश्रित परिवारलाई सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारसंग कोष स्थापना गराउने सहमति पनि भएको थियो । त्यस्तै, श्रमिकको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहररु जस्तै माक्स, पञ्जा, स्यानिटाजर र पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ ।