पुष्पलालको चाहाना धेरै पूरा गरेका छौँ : प्रधानमन्त्री ओली
Wednesday, July 22nd, 2020, 2:06 pm
काठमाडौं, साउन ७। प्रधानमन्त्री केपी ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको चाहाना धेरै हदसम्म पूरा भएको बताएका छन् ।
‘पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं’, पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापना भएको स्मरण गरेका छन् ।
विचारका हिसावले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्धेश्य बनाएका थिए । साथै उनले पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाएका थिए ।
‘पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नु भयो । यो नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो । उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो । बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् । यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो’, ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।