नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउँदै
Wednesday, July 22nd, 2020, 1:12 pm
काठमाडौँ, ७ साउन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउने क्रम जारी रहेको छ ।
मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि भरतपुर महानगरपालिका–२९ मा आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।
चट्टान फोर्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फोर्न शुरु गरेको हो । मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईले जानकारी दिएका छन्।
पहिरोले झण्डै १५० मिटर सडकको भाग ढाकेको छ । उक्त पहिरो पन्छाउन ५ घण्टा लाग्ने अनुमान गरिएको उनले बताए । उक्त सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसोबाट सडक एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । मंगलबार राति चट्टानसहित पहिरो खसेपछि फेरी सडक अवरुद्ध भएको थियो ।