चीनले छिमेकी देशलाई धम्क्याउने, सताउने गरेको अमेरिकी विदेश मन्त्री पोम्पेआको आरोप
Wednesday, July 22nd, 2020, 1:16 pm
काठमाण्डौ, साउन ७ । शक्तिशाली राष्ट्र चिन र अमेरिका विचको बढ्दो तनावका बेला अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीन माथि आरोप लगाउदै कोरोना भाइरसको महामारीको समयमा यसको फाइदा उठाउँदै आएको र आफ्नो स्वार्थका लागि छिमेकी देशलाई धम्क्याउने तथा सताउने गरेका भनेका छन् ।
पोम्पेओले बेलायत भ्रमणमा रहेका बेला महामारीको यो समयमा चीनको सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीले विश्वलाई सहयोग गर्नु पर्ने बेलामा छिमेकी देशमाथि आफ्नो दादागिरी प्रस्तुत गरिरहेको आरोप समेत लगाएका छन् ।
बेलायतका विदेश मन्त्री डोमिनिक राबसँगको भेटपछि भएको पत्रकार सम्मेलनमा पोम्पेओले अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून पालना चिन सहित विश्वका सबै देशले पालना गर्नुपर्ने बताए । उनले साउथ चाइना सी को विवादित क्षेत्रमा चीनले गर्दै आएको दाबीलाई मान्य नरहेको बताए ।
उनले कोरोना महामारीको सुरुवातमा चीनले यसबारेका जानकारी लुकाएको आरोप पुनः लगाएका छन् । त्यसैगरि चीनले कोरोना भाइरसको महामारीबाट उत्पन्न यो संकटको समयलाई हाफ्नो हितका लागि प्रयोग गरेको र यो अति लज्जामर्दो कुरा रहेको पनि बताएका छन् ।
उनले चिनलाई आरोप लगाउदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) समेत चीनको ‘कठपुतली’ बनेको कुरा बेलायती सञ्चारमाध्यलाई बताएका छन् ।