छिमेकी राष्ट्र चीनमा ६ महिनासम्म बन्द सिनेमाघर खुल्न थाले
Monday, July 20th, 2020, 3:15 pm
एजेन्सी, ५ साउन – छिमेकी राष्ट्र चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघरहरू फेरि खुला गर्न लागिएको छ। चीन चलचित्रको लागि विश्वको दोस्रो ठूलो बजार हो।
सोमवारदेखि ” कम जोखिम भएका” स्थानहरूमा चिनियाँ चलचित्र प्रशासनले सिनेमाघर खोल्न सकिने बताएको छ।
ज्यानुअरीदेखि सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका हुनाले अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान गरिएको छ।
खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ।
दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ।
चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ।
नयाँ सुरक्षा नियमहरूमा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न नपाइने पनि रहेको छ।
सन् २०१९ मा त्यहाँ चलचित्रको बजार नौ अर्ब डलरभन्दा बढी रहेको थियो।
जुलाई महिनाको सुरुमा चीनको सबैभन्दा धेरै सिनेमाघरहरूको स्वामित्व रहेको कम्पनी वान्डा फिल्मले यो वर्षको छ महिना घाटा हुने जनाएको थियो।
चीनभरि ६०० भन्दा बढी सिनेमाघर रहेको सो कम्पनीले एक दशमलव छ अर्ब युआन घाटा बेहोर्नु पर्ने अनुमान गरेको जनाएको छ। बीबीसीबाट