अवरुद्ध बुटवल–तानसेन सडकखण्ड पन्ध्र घण्टापछि खुल्यो
Monday, July 20th, 2020, 2:17 pm
बुटवल,५ साउन । अविरल वर्षा संगै पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड करिब पन्ध्र घण्टापछि खुलेको छ । आइतबार राति तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
दुईवटा एक्साभेटर र लोडरले सोमबार बिहानदेखि पहिरो हटाएपछि साढे ११ बजेदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।
एक सातादेखि उक्त स्थानमा पहिरो खस्न शुरु भएको थियो । शुक्रबार राति खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो ।
राजमार्गको बेसलाइन नै बगाएपछि आइतबार सडक अवरुद्ध भएको थियो । सडक खुलेसँगै गन्तव्यतर्फ लागेका डीएसपी गिरीले बताए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले उक्त पहिरोको क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।