शिक्षा मन्त्रालयको आग्रह अनलाइन क्लास बन्द नगर्नू
Monday, July 20th, 2020, 1:03 pm
काठमान्डौ, ५ साउन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई अनलाइन क्लास बन्द नगर्न आग्रह गरेको छ।
प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएर अनलाइन क्लास बन्द गरेर बसेका थिए ।
शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका अनलाइन क्लास निरन्तरता दिन अनुरोध गरेका हुन्।
आइतबार एक विज्ञप्ति निकालेर शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरिएको पनि उनले बताएका छन्।
निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको शर्माले उल्लेख गरेका छन्।
सरकारले राहतको व्यवस्था तथा सहुलियत दिनुपर्ने निजी विद्यालय सञ्चालकहरूले माग राखेका छन्।