आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित
Sunday, July 19th, 2020, 3:53 pm
काठमान्डौ, ४ साउन। आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ।
आज दिउँसाे ३ बजे बस्ने भनिएकाे बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएकाे हो ।
पार्टी भित्र देखिएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने तयारी गरिएकाले विभिन्न विकल्पमा छलफल भईरहेको र सबैलाई मान्ने निर्णयलाई परिपक्वता दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हो।
नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर अपरान्ह तीन बजे बोलाइएको बैठक दुई अध्यक्षबीच छलफल भएर साउन ६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गर्नुभएको हो।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद बढेपछि १७ असार पछि स्थायी कमिटी बैठक बस्न सकेको छैन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन माग गरेका छन्। प्रधानमन्त्री ओलीले कुनै पदबाट राजीनामा नदिने अडान राख्दै आएका छन्।