मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता इञ्जिनीयरको शव फेला
Wednesday, July 15th, 2020, 7:21 pm
काठमान्डौ, ३१ असार। मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जना (इञ्जिनीयर)को शव फेला परेको छ। परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए अनुसार आज अपराह्न ४ बजे अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको हो।
अर्का बेपत्ता भएका अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको भने खोजी कार्य जारी रहेको पनि प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन।