विप्लवका सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन पेस्तोल सहित पक्राउ
Wednesday, July 15th, 2020, 3:37 pm
कैलाली,३१ असार। सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओम प्रकाश पुन कटुवा पेस्तोल सहित पक्राउ परेका छन् ।
प्रहरीको विशेष टोलीले बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले उनीसंगै अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी) सेती महाकाली व्युरो इन्चार्ज पूर्णिमा भन्ने गौरा धामीलाई समेत पक्राउ गरेको छ ।
उनीहरु दुवै जनालाई धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली स्थित सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
उनीहरुलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा बोकेको झोला भित्र लुगामा लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली १ राउन्ड समेत बरामद गरेको बिष्टले बताए ।
उनीहरुलाइ प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।