रुकुमको चौरजहारी घटना नियोजित भएको संसदीय छानविन समितिको निष्कर्ष
Tuesday, July 14th, 2020, 5:18 pm
काठमान्डौ, असार ३०। अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रुकुमको चौरजहाजरी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ ।
अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी घटनाको नेतृत्व वडाध्यक्ष स्वयमले गरेको समितिले ठहर गरेको छ । घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ ।
अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।
प्रतिनिधि सभा, जेठ २६को बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।
प्रतिवेदनको निष्कर्षको जानकारी दिँदै समितिका एक सदस्यले ले भने, ‘घटना जातीय भेदभावमा आधारित नै हो । यो भवितव्य नभएर नियोजित हो । सामुहिक रुपमा आक्रमण गरेर सामुहिक हत्या गरिएको छ । यसमा वडाध्यक्षको नेतृत्व देखिन्छ र प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियामा लापरवाही छ ।’ समितिले दोषीहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्म कारवाही गर्न समेत सुझाव दिएको छ ।
संसदीय विशेष छानविन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम शुरु गरेको थियो । समितिका सदस्यहरुले घाइते, मृतकका परिवार र विज्ञहरुसँग भेटेर घटनाबारे जानकारी लिएका थिए ।